बिर्तामोड । झापा बिर्तामोडका एक जना युवकले मंगलबार अपराह्न मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका छन् । शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवकले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले अपराह्न साढे ४ बजे चौधरीले मुक्तिचोकमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए ।
घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको रिजालले बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगिएको थियो । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताएका छन् ।
उनको बीएण्डसी हस्पिटलको एचडीयुमा उपचार भइरहेको छ । चिकित्सकलाई उद्धृत गर्दै डीएसपी कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए । चौधरी बीएन्डसीकै पूर्व कर्मचारी रहेको बताइएको छ ।