इलाम । तीन हजार ६३६ मिटरमा अवस्थित सन्दकपुर इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ र ४ मा अवस्थित छ । भारतीय सीमा अवस्थित सन्दकपुर नेपाल, भारत र भुटानका हिमाललाई अंगालो हालेर अवलोकन गरिने दक्षिण एसियाकै एक मात्र ठाउँ हो । हिमाली बस्तीमा रमाउँदै सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सन्दकपुरबाट गरिन्छ ।
सर्वोच्च शिखर सगरमाथा, कंचनजङ्गा, मकालु, पाथिभरा, कुम्भकर्णजस्ता ६० वटाबढी अग्ला हिमाललाई एकैठाउँबाट नियाल्ने नेपालकै एकमात्रै स्थान हो, सन्दकपुर । छिनछिमा बदलिरहने मौसम र आँखै अगाडी देखिने हिमश्रृंखलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा धर्तीमै स्वर्गीय आनन्द दिलाउँछ ।
इलामको चार खोलामध्ये पवित्र माई नदीको मुहान रहेकाले सन्दकपूरमा विश्वभरका श्रद्धालु भक्तजनले पूजा गर्दै आएका छन् । डाँडाबाट इलाम, झापा र पश्चिम बंगालका गाउँबस्तीहरु हत्केलामा राखेर हेरिरहुँ जस्तो लाग्छ ।
बंगालको खाडीबाट बिहान झिसमिसेमै उदाउने कलिलो झुल्केघामको उत्कृष्ट दृश्यसँगै घामको लालीमा पारिपट्टिको हिमालहरुमा टल्किँदा आहा १ उचाई चुम्नुको मज्जा कत्ति हो कति । हिउँदमा हिउँ र बर्षातमा झरीसँगै कुहिरोमा रमाउन सन्दकपुरमा देश विदेशबाट आउने पर्यटकहरुको संख्या बढ्दो छ ।

नेपालमा पाइने अनेकौ प्रजातिका गुराँसका बोटमध्ये सन्दकपुर पदयात्राका क्रममा ३६ प्रजातिमा फुल्ने लालीगुराँसबाट रमाउन सकिन्छ । कुहिरोसँग लुकामारी खेल्दै, पाखाभरि ढकमक्क फुल्ने लालीगुराँस, चराहरुको चिरबिर आवाज, फूलहरुको सुगन्धमा रमाउँदै पुगिने सन्दकपुरमा अनेकौँ प्रजातिका चराहरु र लोप उन्मुख वन्यजन्तुसँग रमाउँदा कस्को मन नलोभिएला र !

बासस्थानमा रमाएका चराहरुको चिरबिर आवाज, अग्ला भिरमा पाइने भिरमौरी, लोप उन्मुख वन्यजन्तु रेडपाण्डा र गिद्धको अध्ययन गर्दै प्रकृति रमाउन पाइने भएकाले सन्दकपुरको यात्रामा विश्वभरका पदयात्रीको मन तानिएको छ ।
एकमात्रै होइन अनेक आकर्षणको केन्द्र सन्दकपुरमा भारत भएर विश्वभरबाट आएका पर्यटकहरु नेपाली डाँडाकाँडामा रमाएर आनन्द लिइरहेको पाइन्छ । भारत, भुटान, बंगलादेशका अनि युरोपको गरी वर्षमा डेढ लाखभन्दा बढी पर्यटकले सन्दकपुर भ्रमण गरे पनि नेपालीको संख्या कम छ ।

चराको आँखा नामले परिचित सन्दकपुरलाई एक प्रदेश एक सांस्कृतिक ग्राम २०७५ सालमा नेपाल सरकारले घोषणा गरे पनि खानेपानी, विद्युत्, पदमार्ग जस्ता पूर्वाधार अभाव छ ।
भारततिरबाट व्यवस्थित पर्यटन पूर्वाधारको विकास गरिएको अवस्थामा नेपालबाट कच्ची सडकले मात्रै जोडिएको छ । सन्दकपुर इलाम सदरमुकाम, माईपोखरी, कालपोखरी हुँदै ४२ किलोमिटर पार गरेपछि पुगिन्छ । अर्कोबाटो इलाम बजार, बिब्ल्याँटे, सुलुबुङ्ग, माबु, कालपोखरी हुँदै सन्दकपुर पुगिन्छ ।

प्रकृतिले मुठ्ठी उठाएर दिएको सन्दकपुरमा पारिपट्टिको झैँ हामीले पनि पर्यटन पूर्वाधार निर्माण गरी पर्यटकको लावा लस्करमा किन नपुग्ने । हिमाली बस्तीमा साइनो गाँस्दै, जडिबुटी, स्थानीय उत्पादनका परिकारको स्वादमा रमाउँदै, हिउँदमा हिउँ र वर्षातमा झरीमा रम्न हामी पनि एक पटक हिमालको काखमा अवस्थित सन्दकपुर अवश्व पुगौँ ।