बिर्तामोड । बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर फेला परेको छ ।

 

आज बुधबार साँझ ५ः२० बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोडको पश्चिम स्टेन्डबाट उनीहरुलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा बसिरहेका सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय महमद नसिमर र सिरहा सखुवानर्कटी गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय शिवशंकर यादव पक्राउ परेका हुन् ।

 

बस स्टेन्डमा बसिरहेका उनीहरुलाई प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।