झापा । भारतीय सीमामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र शिवसताक्षी नगरपालिकाका युवा छन् ।

 

शनिबार साँझ ६ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर ६ मा भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका वडा नम्बर १ का २१ वर्षीय विशाल धिमाललाई पक्राउ गरेको हो ।

 

उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यसैगरी, शुक्रबार दिउँसो ४ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नम्बर ५ नयाँबजारमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का २८ वर्षीयय मोहन शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो ।

 

उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको छ ।