झापा । भारतबाट नेपालतर्फ ब्राउनसुगर बोकेर आउँदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान ८ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर ५ मा रहेको इलाका प्रहरी कार्यालय नकलबन्दा, सशस्त्र प्रहरी बल र नेपाल आउट पोष्टको संयुक्त टोलीले लेटाङ नगरपालिका ३ का ४६ वर्षीय विशाल शर्मालाई पक्राउ गरेको हो ।
संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा स्थायी ठेगाना ललितपुर महानगरपालिका १३ भएका शर्मालाई शंका लागी शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध १० ग्राम ब्राउन सुगरसहित नगद नेपाली २८ हजार ६१५ रुपैयाँ बरामद गरेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ परेका शर्मालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालाय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।