इलाम । इलाम कारागारबाट बिहीबार दिउँसो भागेका थुनुवा आज शुक्रबार साँझ पक्राउ परेका छन् । कारागारको सुरक्षा पर्खाल पार गरी भागेका झापा मेचीनगर नगरपालिका ३ बाहुनडाँगीका ३४ वर्षीय साइँला भनिने मनराज राई साँझ ५ बजे पक्राउ परेका हुन् ।
प्रहरीले खोजतलास गर्ने क्रममा इलाम नगरपालिका १० स्थित माईखोला पारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । प्रहरीले खोज्दै, लखेट्दै लैजाने क्रममा लुक्दै भाग्दै गरेका राईलाई पक्राउ गरेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
राईलाई थप अनुसन्धान गरिने प्रहरी उपरिक्षक घिमिरेले बताए । राईलाई अब डेढी थप सजाय हुनेछ । कारागार ऐनअनुसार थप डेढी सजाय हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । राई बिहीबार दिउँसो ३ बजेतिर सुरक्षा पर्खाल पार गरी भागेका थिए । साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि भागेको खुलेको थियो ।
गणनाका क्रममा राई फेला नपरेपछि साँझ पौने ७ बजेदेखि नै प्रहरीले खोजतलास सुरु गरेको थियो । डाँका मुद्दाका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा पुर्पक्षमा थुनाका लागि कारागार चलान भएका थिए । एक सय २५ जनाको क्षमता रहेको इलाम कारागारमा दुई सयभन्दा बढी कैदी र थुनुवा रहेका छन् ।
इलाम कारागारमा एक महिनाअघि मात्र कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बनेको छ । देशकै नमुना सुधार गृहमा एकपछि अर्को यस्तो घटना दोहोरिनुले कर्मचारी र सुरक्षा निकायको मिलेमतोको धेरैले आशंका गर्न थालेका छन् ।
मादकपदार्थ सेवन गरी तास खेलेको भिडियो सार्वजनिक भएपछि बनेको छानबिन समितिले औपचारिकता मात्र पूरा गरेको देखियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिकुमार थापाको संयोजकत्वमा बनेको छानबिन समितिले तास खेलेको र मदिरा पिएको भिडियो ११ महिनाअघिको भएको दाबी गरे पनि मदिरा र तास कारागारभित्र कसरी प्रवेश भयो भन्ने खुलाउन सकेन ।