बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर २ जामुनखाडी सिमसारको बस्तीमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।

 

गएराति ८ः३० बजे जामुनखाडी सिमसार बस्ने ४० वर्षीय भानु दाहालको घरको कोठाभित्र लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको थियो ।

 

त्यसक्रममा घरधनी भानु दाहाल, इलाम माई नगरपालिका वडा नम्बर ८ बस्ने ३९ वर्षीय आशबहादुर लिम्बू र सोही ठाउँ घर बताउने ३२ वर्षीय उमेश राईले टिनको छानामुनि काठको तक्तिमाथि लुकाइराखेको ५ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

 

त्यस्तै, उनीहरुको साथबाट नगद ३४ हजार, ३ थान मोवाइल फेला परेको थियो । उनीहरुसहित आशबहादुर लिम्बूको नाममा रहेको मे. ९ प ९२९६ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।