शनिश्चरे । अर्जुनधारा ८ नम्बर वडा कार्यालयको आयोजनामा महिला लक्षित १५ दिने उद्घोषण तालिम आइतबारदेखि सुरु भएको छ । तालिम आदिवासी जनजाति सामुदायिक भवनमा सुरु भएको हो ।
चालु आर्थिक वर्षको वडास्तरीय योजनाको महिला लक्षित कार्यक्रमअन्तर्गत उक्त तालिमबाट सहभागी प्रशिक्षार्थीहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए ।
वडाध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको तालिममा ३५ जना सहभागी छन् । वडाले यसअघि पनि दलित लक्षित सातदिने उद्घोषण तालिम सम्पन्न गरेको थियो । यस्तै, कफी मेकर, कम्प्युटर तालिम, ड्राइभिङ, नृत्य कक्षा सञ्चालनलगायतका व्यावहारिक शिक्षा प्रदान गरिसकेको वडाध्यक्ष उप्रेतीले बताए ।
प्रशिक्षार्थीहरुलाई सञ्चारकर्मी सरोज पौडेललगायतले उद्घोषणसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक शिक्षा दिने वडा सचिव प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार सहभागीलाई सकेसम्म व्यावहारिक ज्ञान दिँदै धेरै समय अभ्यास गराइने छ ।
सहभागीको परिचयात्मक कार्यक्रमबाटै तालिमको शुभाराम्भ गरेका प्रशिक्षक पौडेलले पहिलो दिन उद्घोषण कला र उद्घोषकले अपनाउनु पर्ने तौरतरिकाका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।