तेह्रथुम । तेह्रथमुको छथर गाउँपालिका ३ स्थित पञ्चकन्यामा बिहीबार अपराह्न ३ बजेतिर आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ । आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए ।
आगो निभाउने क्रममा ६० वर्षीय देवेन्द्र नेवार, १७ वर्षीय प्रकाश तामाङ, १६ वर्षीय युवराज श्रेष्ठ र १५ वर्षीय ओम श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये नेवारको अवस्था गम्भीर छ । उनको हात र खुट्टा जलेको छ । अन्य तीन जना आगो निभाउने क्रममा निसासिएर बेहोस भएका छन् ।
घाइतेहरुलाई स्थानीय छथर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा मानवीय क्षति भएको हो । आगलागीमा परी पूर्व वडाध्यक्ष तुलसीजंग थापाको घर र ग्वाली जलेको छ । घरभन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, जंगलमा लागेको डढेलोको झिल्काले घर जल्दा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा ३२ वर्षीय युवाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फाल्गुनन्द १ लाक्सेबुङका प्रेम नेम्वाङका ३२ वर्षीय छोरा मनकुमार नेम्वाङ छन् ।
उनको बिहीबार दिउँसो साढे ३ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । वडाध्यक्ष होमप्रसाद आङदेम्बेका अनुसार स्थानीय लाक्सेबुङ जंगलबाट सल्केको आगोको झिल्कोले नेम्वाङको घर जलेको थियो । घर जलेको देख्नासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटेका प्रहरी र स्थानीयले निभाउने प्रयास गरे पनि सम्भव नभएको स्थानीय बताउँछन् ।
घरमा आगलागी हुँदा मनकुमार एक्लै थिए । अपांगताका कारण हातखुट्टा चल्न नसक्ने अवस्थाका उनी भाग्न नसक्दा बसेकै ठाउँमा जलेर ज्यान गएको हो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने पनि खतिवडाले बताएकोे इकान्तिपुरमा समाचार छ ।