तेह्रथुम । पूर्वी नेपालको तिनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा यतिबेला गुराँस फुलेर राताम्य देखिनु पर्ने समय हो । तर, गुराँसको राजधानीको रुपमा लिइने यसक्षेत्रमा वैशाखको अन्तिम साता बितिसक्दा पनि फाट्टफुट्ट मात्रै गुराँस फुलेको छ । समग्रमा तेह्रथुम जिल्लामै यसवर्ष गुराँस कम फुलेको हो ।

 

तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको यो क्षेत्र खासगरी हिउँदमा हिउँ पर्दा र गुराँस फुल्ने सिजनमा पर्यटकको मुख्य आर्कषण बन्दै आएको छ । गतवर्षको तुलनामा यसवर्ष भने हिउँ पनि कमै पर्यो र गुराँस पनि कमै फुलेको छ । प्राकृतिक सुन्दरतासँगै टलक्कै टल्किने हिमालको दृष्यले यहाँ आउने पर्यटकहरु मोहित हुने गर्दछन् ।

 

गुराँस फुल्ने सिजन सुरुसँगै यस क्षेत्रमा पर्यटकको चाप बढ्ने गरेको छ । जलवायु परिर्वतनसँगै यसवर्ष भने हिउँ परेन भने गुराँस पनि प्रशस्त फुलेको छैन । गुराँसले रंगिएको हेर्न तिनजुरे पुगेकी इहटरीकी लक्ष्मी कार्की सोचेजस्तो नपाए पनि प्राकृतिक सुन्दरतामा भने रमाएको बताउँछिन् ।

 

तिनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा गतवर्ष फुलेकाे गुराँस : फाइल तस्वीर ।

 

चोलुङ पार्क, वसन्तपुर बजार, आरआर गार्डेन, पाथिभरा मन्दिर, तिन्जुरे डाँडा चौकी मंगलबारे र गुफा पोखरी लगायतका स्थानहरुमा पर्यटकहरुको मुख्य आकर्षंण बन्दै आएका छन् । पर्यटकीय स्थलको रुपमा रहेका परिचित यस क्षेत्रको भौतिक पूर्वाधार विकाससँगै सडकलाई व्यवस्थित गर्न आवश्यक रहेको सुनसरीकी मिना कठायतको भनाइ छ ।

 

यसबेला पर्यटकहरुको चापले यहाँका होटल भरिभराउ हुनुपर्ने हो । तर, हिउँदामा हिउँ पनि नपर्नु र गुराँस पनि नफुल्नाले पर्यटकहरुको चाप खासै बढ्न सकेको छैन । गतवर्षको तुलनामा गुराँस कमै फुले पनि पर्यटकहरुको आगमन भइरहेको स्थानीय आइतराज केरुङ बताउँछन् ।

 

३२ प्रजातिमध्ये गुराँसको राजधानीको रुपमा चिनिएको यस क्षेत्रमा २८ प्रजातिका गुराँस पाइने गरेको छ । यहाँ पूर्वी नेपालका साथै दार्जिलिङ र सिक्किम लगायत विभिन्न देशहरुबाट पर्यटक आउने गरेका छन् । गुराँस फुलेर राताम्मे देखिने यहाँका जंगल अहिले त्यति राताम्मे हुन पाएनन् । तर, पनि पर्यटकीय आकर्षणको क्षेत्र भएकाले प्रकृतिसँग रमाउनकै लागि भए पनि पर्यटकहरु चाहिँ पुग्ने गरेको इमेज खबरमा समाचार छ ।