झापा । झापामा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र दमकका महिला छन् ।

 

प्रहरीका अनुसार दमक ३ की ६५ वर्षीया फूलमाया लिम्बू राई र बिर्तामोड नगरपालिका वडा नम्बर ५ सुकुमबासी बस्तीकी ६० वर्षीया सैरुन खातुन भन्ने चम्फा चौधरी रहेका छन् । उनीहरुको साथबाट १८ केजी १ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

 

वैशाख २६ गते दिउँसो ४ बजेको समयमा दमक नगरपालिका वडा नम्बर ३ शान्ति मार्गमा लागूऔषध गाँजा खरिदबिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले फूलमाया लिम्बू राईलाई १७ केजी गाँजासहित फेला पारेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी वैशाख २९ गते साँझ ५ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नम्बर ५ सुकुमबासी बस्ती बस्ने सैरुन खातुन भन्ने चम्फा चौधरीले लागूऔषध गाँजा बिक्री गर्न छुट्टाछुट्टै प्लाष्टिकमा प्याक गरिरहेको अवस्थामा फेला पारी १ केजी १०० ग्राम गाँजा बरामद गरेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई उनको साथमा रहेको ३ हजार ९०० नगदसमेत बरामद गरी ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका छन् ।