अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाभित्रका हात्ती प्रभावित क्षेत्रमा रहेका स्थानीयलाई सहयोग पु¥याउने उद्देश्यले १० थान हात्ती धपाउन प्रयोग गरिने गन र १० थान लाइट प्रदान गरिएको छ । अर्जुनधारा नगरपालिकाले वडा नम्वर १, २, ३ र ४ लाई दुई-दुई वटा र ८ र ११ नम्वर वडालाई १-१ वटा हात्ती धपाउन प्रयोग गरिने गन प्रदान गरेको हो ।
उज्यालो नेपाल बर्दियाले ग्रिन जेनेरेसन मेचीनगर ४ झापाको संयोजनमा अर्जुनधारा नगरपालिकामा हात्ती धपाउन प्रयोग गरिने १० वटा टर्चलाइट वितरण गरेको हो । योसँगै वुद्धशान्ति गाउँपालिका, शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकालाई पनि १०-१० वटा हात्ती धपाउन प्रयोग गरिने टर्च लाइट वितरण गर्न लागेको बताइएको छ ।
अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच उक्त सामग्री प्रदान गरिएको हो । अर्जुनधाराका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङले सम्वन्धित वडाका हात्ती प्रभावितलाई सो सामग्री हस्तान्तर गरेका हुन् । यता उज्यालो नेपालको हात्ती नियन्त्रण अभियान अन्तरगत ग्रिन जेनेरेसन झापाले १० वटा टर्च नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
सोही कार्यक्रममा पूर्व वार्डेन संरक्षण अभियान वर्दियाका रमेशकुमार थापाले हात्ती प्रभावित क्षेत्रका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा अर्जुनधारा नगरकी उपप्रमुख खड्गमाया पराजुली, उज्यालो नेपाल बर्दियाका अध्यक्ष नवराज न्यौपाने, फिल्ड इञ्चार्ज वन्यजन्तु संरक्षणका शंकर लुइटेल, ग्रिन जेनेरेशनका सचिव मञ्जिल देवान, द्रुत उद्धार ढल मेचीनगर ४ का विश्वास विश्वकर्मा, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीलगायतको उपस्थिति रहेको थियो ।
नेपालका २४ जिल्लामा हात्ती पाइने गरेको सोही कार्यक्रममा बताइएको छ । नेपालमा पाइने हात्ती एशियन प्रजातिका रहेको बताइएको छ । झापा, मोरङ र सुनसरीमा गरी जम्मा एक सयभन्दा बढी हात्ती रहेको जानकारी दिइयो ।