अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित सामूहिक उद्धार तथा उपकार संघको आयोजनामा छैंटौं धार्मिक अनुष्ठानको रुपमा शुक्रबारदेखि भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
स्थानीय ‘पितृमोक्ष भवन’को सभाहलमा सुरु महायज्ञ पितृमोक्षको कामना गर्ने उद्देश्यले आयोजना गरिएको संघका अध्यक्ष जर्नादन उप्रेतीले बताए । महायज्ञ सुरु गर्नुअघि श्रद्धालु भक्तजनको उपस्थितिमा कलश यात्रा गरिएको थियो ।
महायज्ञको प्रमुख वाचक पण्डित उदयनाथ दाहाल र उपवाचक शास्त्री रघुनाथ काफ्ले रहेका छन् । महायज्ञ सम्पन्न गर्न मनोज जोशीको संयोजकत्वमा महायज्ञ मूल आयोजक समारोह समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
महायज्ञ उद्घाटनको दिन शनिदेव जयन्ती परेको हुँदा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम परिसरमा रहेको शनि मन्दिरमा पनि विधिपूर्वक पूजाअर्चना गरियो ।
सोही महायज्ञबाट अखण्ड पितृमोक्ष दीप प्रज्वलन र विवाह तथा व्रतबन्धमा आवश्यक अग्निकुण्डसहितको संरचना निर्माणका लागि जमिन खरिद गर्ने लक्ष्य संस्थाको रहेको संयोजक जोशीले बताएका छन् । त्यसका लागि भवन परिसर नजिक रहेको १८ लाख रुपैयाँ बराबरको १० धुर जमिन खरिद गर्ने प्रक्रिया शुरु गरिएको उनको भनाइ छ ।
निम्न वर्गका परिवारलाई लक्षित गरि सामाजिक रुपमा उत्थान गर्ने उद्देश्यले २०५५ साल फागुन २० गतेदेखि कार्य गरेको उक्त संस्था २०६७ साल चैत २४ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको हो ।