शनिश्चरे । अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि अभिभावक नै अघि सर्नुपर्ने बताएकी छन् ।
अर्जुनधारा १० नम्बर वडा कार्यालयले आयोजना गरेको लागुपदार्थ दुव्र्यसनविरुद्धको जनहातेमालो अभियानको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत राईले आफ्ना सन्तानलाई लागुऔषधको दुव्र्यसनमा फस्न नदिन प्रहरी प्रशासन र जनप्रतिनिधिले मात्र सम्भव नभएकाले अभिभावक स्वयम् पनि चनाखो भएर लाग्नुपर्ने बताइन् ।
उनले आफ्ना छोराछोरीको आनीबानी र व्यवहारप्रति निगरानी गर्न जरुरी भएको भन्दै सिंगो समाज नै लागुपदार्थविरुद्धको अभियानमा हातेमालो गर्न ढिला भइसकेको सुनाइन् । स्कुल, कलेज ड्रेसमै अचेलका युवा पुस्ता धुमपानलगायत लागुऔषधमा भेटिने गरेको दृष्टान्त पनि उनले राखिन् ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्य योजनाअन्तर्गत आयोजित कार्यक्रममा १० नम्बर वडाध्यक्ष भूपेन्द्र न्यौपानेले जनहातेमालो अभियान सन्देश पुराउने माध्यम भएको भन्दै वडाबासीलाई अभियानमा साथ दिन आग्रह गरे ।
तीन दिनसम्म चल्ने अभियान वडाको २, ४ र ५ नम्बर टोलमा आयोजना गरिएको वडा सचिव त्रिविक्रम पोख्रेलले जानकारी दिए । उनका अनुसार अभियानसँगै वडाको सेतीपानी, सहरेडाँगी, कालीझोडा, कालिस्थान चोक र वडा कार्यालय परिसरमा चेतनामुलक लागुऔषध दुव्र्यसनविरुद्धको होर्डिङ बोर्ड पनि राखिने छ ।
अभियानमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा मनोचिकित्सक दिनेश पौडेल र प्रहरी चौकी शनिश्चरेका बरिष्ठ नायव निरीक्षक कुमार ढकालले सहजीकरण गरेका छन् ।
अर्जुनधारा १० को टोल नम्बर ४ स्थित पञ्चकन्या धाम सेवा समितिको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन वडा सचिव पोख्रेलले गरेका थिए भने स्वागत वडा सदस्य सीता परियारले गरेकी थिइन् ।