शनिश्चरे । झापा अर्जुनधारा १० का टोलबासी वडाले सञ्चालन गरेको लागुऔषध दुव्यर्सनविरुद्धको जनहातेमालो अभियानमा सरिक भएका छन् । अभियानअन्तर्गत वडा कार्यालयले आयोजना गरेको छुट्टा छुट्टै कार्यशालामा सहभागी बन्दै अभियानमा जुटेका हुन् ।

 

वडाले तीन वटा टोलमा तीन दिनसम्म सरोकारवालासँग कार्यशाला सञ्चालन गरेको थियो । आज भएको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष भुपेन्द्र न्यौपानेले लागुऔषध दुव्यर्सन न्यूनीकरणका लागि वडा कार्यालयले बर्सेनि कार्यक्रम ल्याउने बताए । उनले अभिभावकलाई आफ्ना छोराछोरीको दैनिकीसँगै व्यवहारप्रति सजग रहन पनि आग्रह गरे ।

 

यस्तै, पत्रकार अमित खम्बूले अर्जुनधारा नगरभित्र यसअघि गरिएका न्यूनीकरणका प्रयासका बारेमा दृष्टान्त प्रस्तुत गरेका थिए । उनले लागुऔषध दुव्यर्सन र यौन हिंसाको घटना कुनै टोलमा मात्र सीमित नभएर वडा र सिंगो नगरभित्रकै मुख्य समस्याको रुपमा रहेको अवस्था पनि औँल्याए ।

 

सहजकर्ता त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् मनोचिकित्सक दिनेश पौडेलले लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था, उनीहरुको व्यवहार, समाजमा पुराउने हानी र स्वास्थ्यसँगै आर्थिक क्षतिका विषयमा प्रष्ट्याएका थिए ।

 

यस्तै, अर्का सहजकर्ता शनिश्चरे प्रहरी चौकीका इन्चार्ज बष्ठि प्रहरी नायव निरीक्षक कुमार ढकालले लागुऔषध प्रयोगकर्ता, व्यापारमा संलग्न व्यक्तिमाथि नेपालको कानुनी अवस्थाबारे जानकारी गराएका थिए ।

 

सोही कार्यक्रममा सिंहवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश तिवारीलगायतका वक्ताहरुले लागुपदार्थ दुव्यर्सन न्यूनीकरणका लागि स्थानीय, सरोकारवाला र सम्बन्धित निकायले खेल्नुपर्ने भूमिकाबारे आफ्ना भनाइ राखेका थिए । जनचेतनामूलक कार्यशालामा २ सय जनाभन्दा बढीले सहभागिता जनाएको वडा सचिव त्रिविक्रम पोखरेलले जानकारी दिए ।

 

गएको मंगलबार टोल नम्बर ४ स्थित पञ्चकन्या धाम सेवा समितिको सभाहलबाट सुरु भएको उक्त कार्यशाला बिहीबार टोल नम्बर २ स्थित ज्येष्ठ नागरिक सामुदायिक केन्द्रको सभाहलमा कार्यक्रम गरि सम्पन्न भएको हो । वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन वडासचिव पोखरेलले गरेका थिए ।