जेठ ३१ साँझ ७:३० बजे ।

झापा (एजेन्सी) । नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ । बुधबार पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव देखिएको थियो । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ । पूर्वानुमान महाशाखाले एक दिन ढिला गरेर भित्रिएको मनसुनलाई सामान्यरूपमा लिएको छ । पूर्वानुमान महाशखाका मौसमविद् गोविन्द झा भन्छन्, ‘यो वर्ष एक दिन ढिला गरेर मनसुन भित्रियो । अन्य वर्षहरूको तुलानामा यो सामान्य हो ।’

 

गतवर्ष जुन ५ मा मनसुन भित्रिएर अक्टोबर १६ मा बाहिरिएको थियो । नेपालमा जुन १३ देखि अक्टोबर २ लाई मनसुनको समय भनेर विभागले परिभाषित गरेको छ ।

 

यसैबीच, मनसुनी प्रणाली पश्चिम नेपालसम्म पुग्न अझ केही दिन लाग्ने भएको छ । अरु बेला पनि केही दिन ढिला गरेर पश्चिम नेपाल पुग्ने मनसुनी प्रणाली यस वर्ष अरब सागरमा बनेको ‘बिपरजय चक्रावत’को आंशिक प्रभाव हुन सक्ने अनुमान गरिएको छ । मौसमविद् झाले भने, ‘अरबियन सागरमा चक्रवातका कारण बनेको शक्तिशाली न्यून चापीय प्रणाली गर्दा पूर्वबाट पश्चिमतिर जाने मनसुनी प्रणालीलाई धकेल्छ भन्ने आँकलन हो । ‘

 

उक्त चक्रवातले बिहीबार बिहान भारतको गुजरात र पाकिस्तानको कराँचीको बीचमा उग्ररूप लिने भारतीय मौसम विभागले जनाएको छ । अरब सागरबाट ८ किलिमिटर प्रति घन्टाको रप्तारमा उत्तर पश्चिम दिशा बढेको उक्त चक्रावत मंगलबार रातिदेखि उत्तर र उत्तरपूर्व दिशातिर बढेको थियो । हाल यो चक्रावत ८५ किलोमिटर प्रति घन्टाको रफ्तारमा अगाडि बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

मनसुनी प्रणाली पूरा नेपालमा पुग्न केही दिन लाग्ने भएपछि पश्चिमी नेपालका भूभागहरूमा तातो हावा अझै चलिरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसमी बुलेटिन निकाल्दै मध्य तथा पश्चिम तराईंका भूभागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत रहेको जनाएको छ ।

 

यसैबीच बिहीबार र शक्रबार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ । ती प्रदेशबाहेकका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको हो ।

 

कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले प्रक्षेपण गरेको छ ।