कुमरखोद (झापा) । झापा गाउँपालिकाअन्तर्गतको हुलाकी राजमार्ग भत्किएको छ । झापा गाउँपालिका वडा २ सानो माइखोलानजिकै हुलाकी राजमार्गको आधाभन्दा बढी भाग वर्षातको पहिलो पानीले भत्किएको हो ।

 

पिच बनाउनको लागि तयारी अवस्थामा राखेको राजमार्ग भत्किएपछि सडकको गुणस्तरप्रति स्थानीय सशंकित बनेका छन् । झापा गाउँपालिकाअन्तर्गत बनेको लगभग १० किलोमिटर हुलाकी राजमार्गमा अत्यधिक बालुवा प्रयोग गरिएको छ । वर्षातको पहिलो पानीले राजमार्ग भत्किन्छ भने पूरै वर्षात आउन बाँकी नै छ ।

 

त्यतिबेलासम्म हुलाकी राजमार्ग रहन्छ कि रहँदैन भनी स्थानीयहरुले चासो लिएका छन् । वर्षातको पहिलो पानीले हुलाकी राजमार्ग भत्किन्छ भने कतिको गुणस्तरीय राजमार्ग बनेको छ भने सहजै अनुमान लगाउन सकिन्छ ।

 

हुलाकी राजमार्ग बनाउने ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सनले झापा गाउँपालिकामा लगभग ९६ प्रतिशत पिचको कार्य सम्पन्न गरेको छ । मोतीदान कन्स्ट्रक्सनले राजगढदेखि रतुवा पुलसम्मको २८ किमी बाटो निर्माण गर्नका लागि ७५.५ करोडमा ठेक्का लिएको छ । हुलाकी राजमार्गले पूर्व-पश्चिम हुँदै तराईका २० जिल्लाहरु जोडेको छ । हुलाकी राजमार्गको लम्वाई १७९२.४२ किमी रहेको छ ।