बिर्तामोड । झापा प्रहरीले इलामको चुलाचुली र झापाको कमल गाउँपालिका ३ जना युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
झापा प्रहरीका अनुसार आज (सोमबार) दिउँसो अन्दाजी ४ बजे दमक ८ स्थित डाँफे चौकबाट कमल गाउँपालिका ४ का टेकेन्द्र कटुवाललाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ३६ वर्षीय कटुवाललाई शंका लागी चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र १ मोबाइल बरामद गरेको थियो । पक्राउ परेका कटुवाललाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
यसैगरी, आइतबार साँझ अन्दाजी ६ बजे भारतबाट नेपालतर्फ आउँदै गरे इलाम चुलाचुली गाउँपालिका २ का सुशिल आङदेम्बे र सुरज लावतीलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
झापा गाउँपालिका ४ मा रहेको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले को. २६ प ८१४० नम्बरको मोटरसाइकललाई आइरहेका उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा पछाडि सवार २६ वर्षीय लावतीको साथबाट प्रतिबन्धित लागुऔषध ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा डिएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।