विराटनगर । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका ८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा मंगलबार दिउँसोबाट कटान सुरु गरेको हो ।

 

बेलका ८ मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केहीमाथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईले बताए । पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षा पछि कोशी नदीमा अत्यधिक पानीको बहाव बढेको छ ।

 

कटान गरेको स्थानबाट बाढी गाउँ पसे बेलका नगरपालिकाको ३ वटा वडाको मानव बस्ती जोखिममा पर्नेछ । बेलकाको वडा नम्बर ८ र ९ अन्तरगत पर्ने सिमलटार र धौरीका साथै वडा नम्बर ३ को दुर्गा बन्दी, मिलन चोक, एबीसी टप्पु, बुधबारे लगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए । नदीको कटान रोक्नका लागि तत्काल तार जाली लगाउने योजना बनाइएको उनले बताए ।