फिदिम । पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलामा ओहोरदोहोरका लागि फड्के पुलको निर्माण गरिएको छ । बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको मोटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि फड्के पुल निर्माण गरिएको हो ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली, सुरक्षा निकायको सक्रियतामा बाँसको फड्के बनाइएको हो । यसअघि तुइनको माध्यमबाट खोला पार गर्दै आएका यहाँका नागरिकले हिजोदेखि भने बाँसको फड्केबाट खोला तरिरहेका छन् ।
असार २ गते शनिबार राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक र तमोर करिडोरको बेलीब्रिज बगाएको हो । बाढीका कारण ताप्लेजुङ जिल्ला, पाँचथरकै फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने सडक सम्पर्क एक हप्तादेखि टुटेको छ । तर, हप्तादिन बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माणको काम भने हुन सकेको छैन ।

एक हप्ता बित्न लाग्दा पनि डाइभर्सनको काम पूरा नहुँदा हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासी समस्यामा परेका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ ।
प्राविधिकको सल्लाहबमोजिम १२ वटा ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर, बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् । यसअघि पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि भइरहेको छ । बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।