शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित गढीमा सञ्चालित मंगलश्री क्रसरमा टिपर पल्टिँदा एक जना मजदुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । तर, घटना भएको चार घण्टा बित्दा पनि शव भने भेटिएको छैन ।
सोमबार दिउँसो ४ः३० बजेको समयमा ताप्लेजुङ घर भइ मंगलश्री क्रसरमा काम गर्ने अन्दाजी २२ वर्षीय अर्जुन भट्टराईको टिपर पल्टिँदा मृत्यु भएको हो । ना १ क ७८९२ नम्बरको टिपरले क्रसरको हबमा मिक्स गिटी लोड गर्ने क्रममा टिपर पल्टिएर क्रसरको हबलाई किच्दा क्रसरको हब झरी किचिएर भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटीगई घटनास्थल सुरक्षित राखी थप बुझ्ने कार्य भईरहेको र थप कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको छ ।
घटनापछि क्रेन र जेसीभीले गिटी पन्छाउने र खोजी कार्य जारी राखे पनि यो समाचार तयार पार्दासम्म शव फेला नपरेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । खोजी कार्यमा जुटेको २ वटा क्रेनमध्ये एउटा क्रेन भाँच्चिएको थियो ।
अहिले पौने ९ बजे पनि जेसीभीको प्रयोगबाट भट्टराईको शव खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । द्युर्घटनापछि टिपर चालक अर्जुनधारा ४ का ५२ वर्षीय गजेन्द्रबहादुर कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।