शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित गढीमा सञ्चालित मंगलश्री क्रसरमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएका मजदुरको शव करिब ५ घण्टापछि फेला पारिएको छ ।

 

सोमबार दिउँसो ४ बजेतिर ताप्लेजुङ घर भइ मंगलश्री क्रसरमा काम गर्ने अन्दाजी २२ वर्षीय अर्जुन भट्टराईको टिपर पल्टिँदा मृत्यु भएको थियो । तर, राति अबेरसम्म पनि शव फेला पार्न सकिएको थिएन ।

 

ना १ क ७८९२ नम्बरको टिपरले क्रसरको हबमा मिक्स गिटी लोड गर्ने क्रममा टिपर पल्टिएर क्रसरको हबलाई किच्दा क्रसरको हब झरी किचिएर भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

घटनापछि क्रेन र जेसीभीले गिटी पन्छाउने र खोजी कार्य जारी राखे पनि राति ८ः५० बजेसम्म शव फेला नपरेको प्रहरीले जनाएको थियो । खोजी कार्यमा जुटेको २ वटा क्रेनमध्ये एउटा क्रेन भाँच्चिएको थियो ।

 

करिब ९ बजेतिर जेसीभीको प्रयोगबाट भट्टराईको शव बाहिर निकालिएको थियो । उनको टाउको र छातीमा गहिरो चोट लागेको अवस्थामा फेला पारिएको थियो । दुर्घटनापछि टिपर चालक अर्जुनधारा ४ का ५२ वर्षीय गजेन्द्रबहादुर कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।