झापा । झापा गाउँपालिकाअन्तर्गत हुलाकी सडकमा पर्ने बिरिङ नदीको पुल १२ वर्षपछि बल्ल निर्माण सम्पन्न भएको छ । २०६८ साल असार १३ गते ठेक्का लागेको पुल यतिबेला सम्पन्न हुनुलाई ठेकेदार कम्पनीको चरम लापरवाहीको रुपमा लिइएको छ ।

 

पुल निर्माणको लागि शुरुको ठेक्का लामा मैनाचुली जेवीले लिएको थियो । २०६८ साल असार १३ गते गरेको सम्झौता अनुसार पुलको निर्माण कार्य चार वर्षभित्र सम्पन्न गर्नुपर्ने थियो तर, ठेकेदार कम्पनीले पुल निर्माण कार्यमा ढिलाई गरेपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पटक पटक म्याद थप गरिदिएको थियो ।

 

पछिल्लो म्याद थप अनुसार पुल ०७७ साल असार १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । म्याद थप गर्दा पनि समयमा पुल निर्माण गर्न नसक्दा लामा मैनाचुली कम्पनीको सम्झौता रद्ध गरिएको थियो ।

 

त्यसपछि पुल निर्माणको ठेक्का पप्पु जेवीको पार्टनर महादेव खिम्तीलाई दिईएको थियो । महादेव खिम्तीले पुलको निर्माण कार्य दुई वर्षभित्रमा सम्पन्न गरेको इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रु ३६ करोड बढीको लागतमा विरिङ पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

 

पुलमाथि १९ वटा स्लाव लगाइएको छ भने पुलको लम्वाई ३१८ मिटर र चौडाई ९.८ मिटर रहेको उनले बताए । हुलाकी राजमार्गअन्तर्गत झापा खण्डमा ४८ किलोमिटर दुरीमा कालोपत्रे गर्ने कार्य लगभग सम्पन्न भएको छ भने साना ठुला नदीमध्ये रतुवा र कन्काई नदीबाहेक अन्यमा पुल निर्माण सम्पन्न भईसकेको इन्जिनियर खतिवडाले जानकारी दिएका छन् ।

 

पुल निर्माण भएसँगै तत्कालको लागि पैदलयात्रु र मोटरसाईकललाई आवतजावत गर्न मात्र दिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । निर्देशनालयका अनुसार पुल भर्खरै ढलान भएकोले सुक्नका लागि २५देखि २८ दिन समय लाग्ने छ । त्यसपछि यातायात संचालनको लागि अनुमति दिइने छ ।

 

विरिङ पुल बनेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पंथापाडाका महेश थापामगरका अनुसार पुल नबन्दा वारिपारि गर्न धेरै कठिनाई थियो । नजिकै रहेको राजगढ बजार जान पनि धेरै समस्या हुन्थ्यो । त्यसैगरी झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले अब झापा गाउँपालिकावासीलाई सदरमुकाम जान सहज र समय दुवैको बचत हुने बताए ।

 

‘पहिले सदरमुकाम चन्द्रगढी जान लगभग ४७-४८ किलोमिटर दूरी टाढा घुमेर जाँदा दिनभर लाग्थ्यो’ उनले भने,‘ अब त झापाबाट सिधै २४ किलोमिटरमा दूरीमा रहेको सदरमुकामको काम सकेर सजिलै घर फर्किन सक्छन् ।’ त्यसैगरी स्थानीय समाजसेवी माधव पोखरेलले अध्ययन गर्न ,बजार जान र खेती गर्नका लागि डुङ्गा चढेर वारपार गर्नुपर्ने कष्ट हराएको बताए ।