बिर्तामोड । सेन्टर फर दलित वुमन नेपाल (सीडीडब्ल्यूएन)ले बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिलाई लक्षित गरेर महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण मोेड्युल ३ सम्पन्न गरेको छ ।

 

राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन र महिला जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो ।

 

शि लिड्स परियोजनाअन्तर्गत बिर्तामोडको डेनियल होटलमा आयोजित ४ दिने प्रशिक्षणमा बिर्तामोड नगरमा निर्वाचित भएका २३ जनामध्ये नवनिर्वाचित १४ जना महिला जनप्रतिनिधिलाई सहभागी गराइएको आयोजक संस्थाकी झापा संयोजक सम्झना पोख्रेलले जानकारी दिइन् ।

 

नेतृत्वको जिम्मेवारी बाँडौँ बराबरी भन्ने मुख्य नारासहित आयोजित प्रशिक्षणमा दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिचय, विकास, सञ्चारमाध्यमसँग सहकार्य, शक्तिको परिचय र शक्तिको मापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली र तथ्यांक संकलन, अध्यावधिक तथा व्यवस्थापन विषय केन्द्रित थियो ।

 

२०७४ सालदेखि सुरु प्रशिक्षणमा झापाका आठ वटा पालिकालाई समावेश गरिएको छ । संयोजक पोख्रेलका अनुसार अर्जुनधारा, मेचीनगर, बुद्धशान्ति र बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिलाई यो प्रशिक्षण दिइसकिएको छ । समावेश अन्य पालिकामा दमक, शिवसताक्षी, कमल र गौरीगञ्ज रहेका छन् ।

 

समापन कार्यक्रममा बिर्तामोड नगरपाकिलाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रशिक्षण लिइएको नेतृत्व विकाससँगै कार्य दक्षतालाई जनताको सेवामा समर्पित गर्न आग्रह गरे । महिला जनप्रतिनिधिले प्रशिक्षणमा पाएको ज्ञानले नगरमा नयाँ भिजन आउने अपेक्षा उनको थियो ।

 

प्रशिक्षकद्वय सोमराज ढकाल र पुनम मण्डलले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोका, महिला जनप्रतिनिधिहरु लक्षिमा खतिवडा, हेमलत्ता विश्वकर्मालगायतले प्रशिक्षण लिनुअघि र लिएपछिको आफ्ना अनुभव सुनाएका थिए ।

 

मान्छेका अघि बोल्नै नसक्नेले पनि बोल्न सक्ने भएको, वडा तथा नगरको योजना तर्जुमाबारे कुनै ज्ञान नै नहुँदा पछि परिएको अवस्थाबारे आफ्ना अनुभव सहभागी महिला जनप्रतिनिधिहरुको थियो ।