बिर्तामोड । स्थानीय तहमा महिला जनप्रतिनिधिलाई नेतृत्व तहमा स्थापित गर्न पुरुषहरुलाई सहकार्य गर्दै जिम्मेवार बनाउन झापाको बिर्तामोडमा अन्तरक्रिया गरिएको छ ।
शी लिड्स परियोजनाको महिला नेतृत्व कार्यक्रमअन्तर्गत सेन्टर फर दलित वुमन नेपाल (सीडीडब्ल्यूएन) ले लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिकाको सम्बन्धमा पुरुष सहयोगीहरुसँगको अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सीडीडब्ल्यूएनमा आवद्ध झापाका ८ वटा पालिकाका विभिन्न क्षेत्रमा सक्रिय २४ जना पुरुष सहयोगीलाई सहभागी गराएर अन्तरक्रिया गरिएको आयोजक संस्थाकी झापा संयोजक सम्झना पोख्रेलले बताइन् ।
उनका अनुसार स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको भूमिका र लैंगिक समानता प्रवद्र्धन गर्न पुरुष सहयोगीहरुलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
सबै क्षेत्रमा पुरुषहरुको सहभागिता बढी हुने भएकोले महिला नेतृत्व छनौट र उनीहरुलाई अवसर प्रदान गर्न पनि उनीहरुकै भूमिका महत्वपूर्ण र प्रभावकारी हुने हुँदा पुरुष सहयोगीबीच अन्तरक्रिया गरिएको हो ।
महिला नेतृत्व र लैंगिक समानताका लागि पुरुषहरु सहयोगी बन्नसक्ने ठम्याइका साथ उनीहरुको प्रतिवद्धता पनि लिइएको आयोजक संस्था झापाकी संयोजक पोख्रेलले बताइन् ।
अन्तरक्रियामा लिंग र लैंगिकता, यौन दुव्र्यवहार र हिंसा, सहयोगी बन्नु र प्रतिवद्धता विषयमा सोमराज ढकाल र पुनम मण्डलले सहजीकरण गरेका थिए ।
समान र सन्तुलित समाज निर्माण गर्न महिला र पुरुष तथा केटा र केटीबीच सँगै काम गर्ने वातावरण बनाउन पुरुष सहयोगीको महत्वपूर्ण भूमिका रहने सहभागीहरुको भनाइ थियो । कार्यक्रममा डम्बर बस्नेत र विजय तिम्सिनाले आफ्ना भनाइ राखेका थिए ।
झापाको अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति, मेचीनगर, शिवसताक्षी, गौरादह, दमक र कमल पालिकामा क्रियाशील राजनीतिककर्मी, शिक्षक, प्राध्यापक, सामाजिक अभियन्ता, सञ्चारकर्मी, व्यवसायीहरुलाई कार्यक्रममा सहभागी गराइएको थियो ।