उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट पालिकाले निर्माण गरेका घर गतवर्षको संविधान दिवसका दिन ६ परिवारलाई हस्तान्तरण गरिएको थियो ।
आफ्नो जमिन नभएका र कमाउन पनि नसक्ने अति विपन्न परिवारलाई घर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताइन् । आँगनमा पानी पिउने ट्युववेल, शौचालयसहितको दुई कोठे घर पाएपछि ६ परिवारले आफ्नो श्रमबाट प्राप्त आम्दानीले छोराछोरी पढाउनका लागि खर्च गर्न थालेका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा पनि पालिकाले ४ वटा घर निर्माण गरेको छ । पालिकाले खरिद गरेको जमिनमा उत्तरतर्फबाट घर निर्माण गर्न थालिएको थियो । यो पटक भने पालिकाले ४ वटा घरमा ८ परिवार बस्ने मिल्ने बनाएको छ ।
अध्यक्ष इङ्नामले भनिन्, ‘४ परिवारको आँगन उत्तर फर्किएको हुनेछ भने ४ परिवारको आँगन दक्षिण फर्किएको हुनेछ । कुनै पनि परिवारलाई अघि वा पछि बसेको अनुभूति नहोस् भन्ने उद्देश्यले एउटै घरको दुवैतर्फ मुख बनाइएको उनको भनाइ छ । गोरखापात्र अनलाइनबाट