इलाम । इलामको माइखोला टापुस्थित माई भगवती वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नेपाली सेनाले काठको दराज उपलब्ध गराएको छ । सदरमुकामको गढीथुम्कास्थित रण शार्दूल गणले इलाम नगरपालिका १०, स्थित टापुमा रहेको वृद्धाश्रमलाई १६ थान दराज सहयोग गरेको हो ।
लुगाफाटा र सरसामान राख्न ज्येष्ठ नागरिकलाई समस्या भएको देखेपछि सेना आफैँले दराज निर्माण गरी सोमबार हस्तान्तरण गरिएको गणपति सुनिल सुवेदीले बताए । २०६२ सालमा स्थापित वृद्धाश्रममा अहिले नौं जना पुरुष र पाँच जना महिला ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
नेपाली सेनाले दिएको दराजले ज्येष्ठ नागरिकलाई सहयोग पुगेको वृद्धाश्रमकी संस्थापक तथा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले बताइन् । वृद्धाश्रमलाई विभिन्न समय र अवसर मिलाएर विभिन्न सङ्घसंस्था तथा दाताहरूले सहयोग गर्ने गरेका छन् ।