झापा । झापाको छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जना आरोपीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका ६ बुट्टाबारीका १४-१४ वर्षका दुई जना किशोरलाई पक्राउ गरिएको हो । सोही ठाउँस्थित चिया बगानमा बोलाएर ती बालिकालाई आइतबार राति दुवै जनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका १ बस्ने ५९ वर्षीय नरेश रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । रसाइलीले ती बालिकालाई बुवाआमा धान रोप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको बताइएको छ ।
प्रहरीका अनुसार आरोपीले बालिकालाई फकाएर आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको बारेमा झापा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।