ताप्लेजुङ । सवारी दुर्घटनामा परी घाइते भएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ । झापाको बीएन्डसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका ५ पापुङको सिम्बुक गाउँ शोकमग्न बनेको हो ।
गएको मङ्गलबार मेची राजमार्गको इलाम-पाँचथर सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका २ साम्दिनमा मे १ ज १९४१ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई सोही दिन उपचारका लागि बीएन्डसी लगिएको थियो ।
अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा शेर्पाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको पापुङका स्थानीय सागर शेर्पाले बताए । हाल काठमाडौंमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी शेर्पा आफ्नो गाउँ पापुङ फर्कने क्रममा जिप दुर्घटनामा परेकी थिइन् ।
उनको उपचारको क्रममा मृत्यु भएको थियो । शेर्पाको शव कानुनी प्रक्रिया पूरा गरेर आफ्नै गाउँ पापुङको सिम्बुक ल्याएर अन्त्येष्टि गरिने पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए ।
यसअघि सो दुर्घटनामा परी ताप्लेजुङकै मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४२ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको सोही दिन निधन भएको थियो । यस्तै, फिदिम १० याङनामकी सविना विकको पनि यसअघि निधन भएको थियो ।
चालकसहित १४ जना यात्रु सवार उक्त जिप झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउने क्रममा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । गोरखापत्र अनलाइनबाट