शनिश्चरे । झापा अर्जुनधारा ८ का सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सामग्री सोमबार हस्तान्तरण गरिएको छ ।

 

उपप्रमुख मातृशिशु कार्यक्रमअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो । अर्जुनधारा ८ का ११ जना गर्भवती र ५ जना सुत्केरीलाई ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले सामग्री हस्तात्रण गरेका हुन् ।

 

आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा आयोजित एक अनौपचारिक कार्यक्रममा वडाध्यक्ष उप्रेतीले आमा तथा बच्चाको स्वास्थ्यका लागि नगरले सञ्चालन गरेको मातृशिशु कार्यक्रम प्रभावकारी रहेको बताए ।

 

थप आधारभूत आवश्यकता पूर्तिका लागि नगरपालिकासँगै वडा कार्यालयबाट पनि समन्वयकारी भूमिका निर्वाह हुने वडाध्यक्ष उप्रेतीको भनाइ छ । गर्भवती वडाबासीले नियमित स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य कार्यालयमा सम्पर्क राख्न उनले आग्रह पनि गरे ।

 

स्वास्थ्य कार्यालयमा नियमित सम्पर्कमा रहेका ५ जना सुत्केरी महिलालाई शिशुका लागि डाइपर, लुगा, ब्ल्यांकेट, थर्मामिटरलगायत सामग्री हस्तान्तरण गरिएको सेवा केन्द्रकी प्रमुख हेमन्ता गौतमले बताइन् । स्वास्थ्य कार्यालयमा नियमित सम्पर्क तथा स्वास्थ्य परीक्षण गराइरहेका गर्भवती तथा सुत्केरी महिलालाई उक्त सुविधा प्रदान गर्दै आएको छ ।

 

यसैगरी, ११ जना गर्भवती महिलालाई एक एक थान सुपानेट झुल हस्तान्तरण गरिएको कार्यक्रममा आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि नगर स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईले जानकारी दिएकी थिइन् ।