फोटो मनोज लिम्बूको फेसबुक वालबाट

बिर्तामोड । बिर्तामोडमा डेंगी संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसहित साउन महिनामा डेंगी संक्रमणबाट बिर्तामोडमा दुईजनाको मृत्यु भइसकेको छ ।

 

हिजो साँझ डेंगी संक्रमणबाट बिर्तामोड ५ का ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो । उनको केही दिनदेखि बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

 

यसअघि साउनको पहिलो साता बिर्तामोड ५ कै ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ ।

 

बिर्तामोडका अस्पतालहरुमा डेंगीका विरामीहरु भरिन थालेका छन् । बिर्तामोडका अस्पतालहरुमा परीक्षण गराएका र भर्ना भएका संक्रमितहरुको बारेमा स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिकाले सही तथ्यांक निकाल्न सकिरहेका छैनन् ।

 

दुई दिनअघि स्वास्थ्य कार्यालय झापाले जिल्लामा २३८ जना डेंगी संक्रमित पुगेको तथ्यांक निकालेको थियो । तर, बिर्तामोडकै अस्पतालहरुमा सयभन्दा बढी डेंगी संक्रमित पुगिसकेका छन् ।