विनोद सापकोटा,
झापा । किरातहरुको आराध्य देवता सुम्निामा पारुहाङको नेपालमै पहिलो पटक निवस्त्र शालिक निर्माण भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित झिलझिलेमा २५ लाख रुपैयाँको लागतमा शालिक निर्माण भएको हो ।

स्थानीय सरकार, किरात धर्मावलम्बीहरु र वैदेशिक रोजगारमा रहेका नेपालीसमेतको सहयोगमा सो शालिक निर्माण सम्पन्न भएको किरात राई यायोक्खा शिवसताक्षीका कोषाध्यक्ष कुमार खालिङ्ग राईले बताए । सुम्निामा पारुहाङ राई समुदायका सृष्टिकर्ता हुन् । आदिमकालमा सुम्निमा पारुहाङजस्तो अवस्थामा थिए सोही अवस्थाको शालिक निमार्ण गरिएको किरात राई यायोख्या शिवसताक्षी नगरले जनाएको छ ।

सुम्निमा पारुहाङको शालिक भारतको सिक्किममा पनि निर्माण भएको छ । तर, नेपालमा निवस्त्र शालिक निर्माण भएको यो पहिलो हो । नेपालकै केही ठाउँमा पनि सुम्निमा पारुहाङको शालिक निर्माण भएका छन् । तर, आधुनिक भेषभुषा लगाएको शालिक निर्माण गरिएका छन् । सुम्निमा पारुहाङ आदिमकालमा निवस्त्र थिए । यसकै आधारमा नेपालमा पहिलो पटक सुम्निमा पारुहाङको निवस्त्र शालिक निर्माण भएको किरात राई यायोक्खा शिवसताक्षीले दाबी गरेको छ ।

राई समुदायले आफ्नो जातिको सृष्टिकर्तालाई भगवानकै रुपमा पूजा गर्छन् । यायोक्खा नगर अध्यक्ष पर्शुराम राईले भने, ‘सुम्निामा पारुहाङको मन्दिर भने पनि अत्युक्ति हुँदैन, किन भने हामी सुम्निमा पारुहाङको पूजा गर्छो ।’

यायोक्खा शिवसताक्षीले शालिक निर्माणका लागि दिलिप बान्तवा राईको संयोजकत्वमा निर्माण समिति बनाएको थियो । सो समितिले ०७४ सालदेखि मन्दिर निर्माण सुरु गरेको हो । करिब एक साताअघि मात्र निर्माण सम्पन्न भएपछि झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँवा लिम्बूले एक भव्य कार्यक्रमका बीच मन्दिरको अनावरण गरेका हुन् ।

सो कार्यक्रममा प्रदेश सांसदद्वय झलकसिंह दर्लामी र हिरा थापा लगायतले सुम्निमा पारुहाङको शालिक निर्माणले शिवसताक्षीको धार्मिक पर्यटकीय विकासमा थप टेवा मिल्ने विश्वास व्यक्त गरे । उनीहरुले विभिन्न जातजाति र भाषाभाषीको समिश्रण रहेको नेपाली समाज कला संस्कृतिको धनी मुलुक भएको पनि चर्चा गरे ।

सो कार्यक्रममा चर्चित गायिका मेलिना राईले तिमीले बाटो फेर्यौं अरे… सहित विभिन्न चर्चित गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी थिइन । यायोक्खा शिवसताक्षीका अध्यक्ष पर्शुराम रिङगालुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।