झापा । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार रहेका इलाम सूर्योदय नगरपालिका २, सयपत्री टोल बस्ने पूर्णबहादुर तामाङ पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज दिउँसो १२ः१० बजे सूर्योदय २ स्थित लालीखर्कबाट तामाङ पक्राउ परेका हुन् ।
पक्राउ परेका तामाङमाथि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जवेगुले बताए । तामाङले झापाको अर्जुनधारा ११ माइत भएकी डम्बरकुमारी तामाङको हत्या गरेका थिए ।
सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरको साविक सुभाङ १ हाल हिलिहाङ ७ घर भएका चेपाङे भनिने तामाङले आफ्नै कान्छी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरि फरार भएका थिए ।
सोमबार बेलुका ८ बजेतिर ५० वर्षका पूर्णबहादुरले सामान्य झगडाका कारण ४५ वर्षीया श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टिको भागमा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेका थिए ।
पूर्णबहादुर कान्छी श्रीमती डम्बरकुमारीसंग सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । उनले तीन महिनाअघि अर्काकी श्रीमती डम्बरकुमारीलाई भगाएर लगेका थिए । पूर्णबहादुरकी जेठी श्रीमती हिलिहाङमा बस्दै आएको जनाइएको छ ।