धनकुटा । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । डेंगीबाट बुधबारसम्म नौ जनाको मृत्यु भएको छ भने सात हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ ।
प्रदेश १ का १३ जिल्लामा अहिलेसम्म सात हजार २७३ जनामा डेंगी सङ्क्रमण देखिएको छ । मृत्यु हुने सबै सुनसरीका रहेका छन् । झापाको बिर्तामोडमा २ जनाको मृत्यु भए पनि त्यसको तथ्यांक यहाँ समावेश गरिएको छैन ।
डेंगी सङ्क्रमण प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिएको छ । सोलुखुम्बुमा जिल्लामा भने हालसम्म सङ्क्रमण देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको सङ्क्रमण बढी देखिएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा सङ्क्रमण देखिएको छ । सुनसरीमा ४ हजार ८७४, मोरङमा १ हजार १७१, झापामा ५६४, उदयपुरमा १९२ र धनकुटामा १३४ जनामा डेंगी सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
यस्तै भोजपुरमा ९८, सङ्खुवासभामा ९७, तेह्रथुममा ६७, इलाममा ३८, पाँचथरमा १६, ताप्लेजुङमा १२, ओखलढुङ्गामा ६ र खोटाङमा ४ जनामा सङ्क्रमण देखिएको बस्नेतले बताए ।