झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद र मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो (शनिबार) राति अन्दाजी ९ः३० बजे दमक २ भाङबारीस्थित पुजन दुलालको घरमा ब्राउनसुगरको किनबेच भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।

 

२३ वर्षीय दुलालको घरको कोटाभित्र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले निजसँगै दमक ७ छितिज टोल बस्ने २१ वर्षीय सचिन मगरलाई पक्राउ गरेको झापा प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ परेका युवाको शरीर तथा कोठा तलासी गर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३०० मिलीग्राम, डिजिटल तराजु १ थान, मोवाईल ३ थान र नगद १ लाख २३ हजार ९ सय फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको बताइएको छ।