झापा । झापामा दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापामा भएकाे घटनामा इलाम चुलाचुलीका २ जना युवा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका ३ स्थित मंगलसिद्दी बजार बस्ने २७ वर्षीय वीरबहादुर राई र चुलाचुली ३ यलम्बर चोक बस्ने २१ वर्षीय मनोज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार गत साउन २५ गते कमल गाउँपालिका ६ स्थित लखनपुर टोल निवासी अशोककुमार तामाङको घर अगाडि पार्किङ गरिराखेको बजाज कम्पनीको मे ८ प ३४७८ नम्बरको मोटरसाइकल र मे ९ प ८६६८ नम्बरको बजाज कम्पनीकै एनएस मोटरसाइकल चोरी भएको थियोे ।

 

पार्किङ गरी राखिएको दुईवटा मोटरसाइकल एकैसाथ चोरी भएपछि पीडित धनीले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका थिए ।

 

चोरी भएको मोटरसाइकलहरूको खोजतलास गर्ने क्रममा विशेष सूचनाको आधारमा उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसंधान भइरहेको छ ।