बिर्तामोड । लागूऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोडबाट मंगलबार अपरान्ह दुई युवक पक्राउ परेका छन् । सोमबार साँझमात्र बिर्तामोड ३ स्थित मेची आँखा उपचार केन्द्र नजिकबाट २ जना युवा पनि पक्राउ परेका थिए ।

 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड ३ का सन्तोष भनिने तेजबहादुर राई र राज भनिने कृष्ण लिम्वू रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

 

बिजुली अफिस छेउ सुरेश अग्रवालको घर प्यासेजबाट उनीहरु समातिएका हुन् । डीएसपी रिजालका अनुसार शंका लागेर प्रहरीले खानतलासी गर्दा राईको दाहिने मुठ्ठीमा १० ग्राम पाँचसय मिलिग्राम ब्राउनसुगर फेला परेको हो । प्रहरीले उनीहरुका साथबाट दुई थान मोवाइल पनि बरामद गरेको छ ।

 

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको सहयोगमा पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानसहित कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ ।