फिदिम । जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका १४ का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

दुबै जनालाई फिदिम बजारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीलनजङ्ग थापाले बताए । सर्वोच्च अदालतको २०७९ भदौ १६ गतेको फैसलाले मेखबहादुरलाई किर्ते नागरिकतामा दोषी ठहर गरेको प्रहरी कार्यालयले जनाएको छ ।

 

उनलाई मंगलबार नै जिल्ला अदालत पाँचथरमा पेस गरी अदालतको पत्रादेशले जिल्ला कारागार पाँचथरमा बुझाइएको जनाइएको छ । अदालतको फैसलामा मेखबहादुरले एक वर्ष कैद र २० हजार रुपियाँ जरिवाना सजाय भुक्तान गर्नुपर्ने तोकिएको छ ।

 

बलात्कार आरोपी गंगा राईलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानका लागि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । फरक क्षमता भएकी बालिकालाई गंगाले गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको आरोप छ ।