झापा । झापाका विभिन्न स्थानमा दैनिकजसो प्रतिबन्धित लागूऔषध प्रयोगकर्ता तथा कारोबारमा संलग्न युवा पक्राउ परिरहेका छन् । यसै सातामात्र झापाको दमक, बिर्तामोड र काँकरभिट्टा क्षेत्रबाट आधा दर्जनभन्दा बढी युवा पक्राउ परे ।
यसैगरी, पक्राउ गर्ने क्रममा प्रहरीले बुधबार पनि दुई जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका हुन् । बुधबार दिउँसो ४ बजेको समयमा मेचीनगर नगरपालिका १३ चारआली चौकबाट २ युवा पक्राउ परेका छन् ।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १४ बस्ने अन्दाजी २२ वर्षीय अजय राजवंशीलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनीसँगै रहेका साथी मेचीनगर नगरपालिका १२ बस्ने अन्दाजी २२ वर्षीय समीर धिमाल समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।