सुनसरी । धरानमा निषेधाज्ञा जारी भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज रातिबाट लागु हुने गरी २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हो।

 

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै‌ हिन्दु समर्थकहरूले शनिबार प्रदर्शन आह्वान गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले जानकारी दिएकी छन्।

 

जारी आदेशमा पश्चिमको धरान प्रवेश गर्ने बराहक्षेत्र नगरपालिका १ को झाडी क्षेत्र, दक्षिण पश्चिमको रामधुनी ६ र बराहक्षेत्र ३ बाट धरानतर्फ, इटहरी २० को पानीपियादेखि धरानतर्फ आउने बाटोमा प्रशासनले निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

 

यस्तै, धरान ५ को प्रवेश मार्ग पूर्वी केराबारीदेखि धरानतर्फ र धनकुटाको साँगुरीगढी ६ को भेडेटारबाट धरानको क्षेत्रमा निषेधाज्ञा गरिएको उल्लेख छ ।