खुदुनाबारी, झापा । अर्जुनधारा नगरपालिका १ मा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका नवगठित पदाधिकारी तथा सदस्यलाई आइतबार एक कार्यक्रमका बीच ओहोदाको प्रमाणपत्र प्रदान गरिएको छ ।

महिला नेतृ सरस्वती सिटौला गोलेको संयोजकत्वमा गठित निर्वाचन समितिले आयोजना गरेको कार्यक्रममा समूहका पदाधिकारी तथा सदस्यलाई १ नम्बर वडाध्यक्ष गजाधर खतिवडाले प्रमाणपत्र प्रदान गरेको हो । जेठ १४ गते सम्पन्न विशेष साधारणसभाले चक्रबहादुर तामाङको नेतृत्वमा १७ सदस्यीस नयाँ कार्य समिति निर्विरोध चयन गरेको थियो ।

तेस्रोपल्ट अध्यक्षमा चयन भएका तामाङले प्रमाणपत्र ग्रहण गर्दै पुरानो गर्न बाँकी रहेको काम यस कार्यकालमा पूरा गरेर छाड्ने प्रतिवद्धता जनाए । ‘पहिलो कार्यकाल दर्दनाक थियो, दोस्रो राम्रै भयो अब तेस्रोमा अझ राम्रो गरेर देखाउनेछु’, उनले भने, ‘तर, म एक्लैले गर्ने होइन, सिंगो टिमको एकताले राम्रो काम गर्ने हो ।’

पहिले राम्रो काम गरेकाले नै फेरि अध्यक्षमा चुनिएको आफूले महसुस गरेको बताएका उनले आम उपभोक्तालाई निराशा नबनाउने प्रतिवद्धता दोहो¥याए ।

निर्वाचन समितिका सदस्य माधव आचार्यले स्वागत गरेको कार्यक्रममा समूहका निवर्तमान सदस्य तथा पदाधिकारीलाई विदाइसहित मायाको चिनो प्रदान गरिएको थियो । समितिका सदस्य विजेन्द्र एक्तेनले नयाँ कार्यसमितिलाई लेखा तालिम र ओरिएन्टेशन गराउन सुझाव दिएको कार्यक्रममा निवर्तमान सदस्य युवराज आचार्यले शुभकामनासहित आफ्ना भनाइ राखेका थिए ।

नयाँ कार्य समितिले पदभार ग्रहण गरेसँगै निर्वाचन समितिका पदाधिकारी तथा सदस्यलाई मायाको चिनो दिँदै सम्मानसमेत गरेको छ । निर्वाचन समितिमा नारायण घिमिरे, टंक न्यौपाने पनि सदस्य थिए । समूहकी सचिव तारादेवी आचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजीमान कार्कीले भेलालाई स्वागत गरेका थिए ।

जेठ १४ गतेको विशेष साधारणसभाले लेखा समितिको संयोजकमा लीलाराज आचार्यलाई चयन गरेको थियो । त्यस्तै, वीरबहादुर राई र देउनारायण राईलाई सदस्यमा चयन गरेको थियो ।

सोही सभाले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना सिफारिस गर्ने र कार्यालय सचिव नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको थियो । विशेष साधारणसभा डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो ।