शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले नियुक्त गरेको नगर प्रहरीलाई एक संक्षिप्त कार्यक्रमका बीच आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
खुल्ला प्रतिस्पर्धाबाट करार सेवामा साउन २३ गते नियुक्त गरिएका नगर प्रहरी सहायक निरीक्षक एक, नगर प्रहरी हवल्दार एक र दुई महिलासहित पाँच जना नगर प्रहरीलाई नगर प्रमुख बलदेवसिंह गोम्देनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
नगर प्रहरी सहायक निरीक्षकमा आइन्द्रकुमार तामाङ रहेका छन् । उनी नेपाली सेनाको जमदारबाट अवकाश प्राप्त हुन् । नगर प्रहरी हवल्दारमा डम्बरबहादुर तामाङ पनि नेपाली सेनाको हवल्दार पदबाट अवकाश प्राप्त हुन् ।
यस्तै, नगर प्रहरीहरुमा श्याम आचार्य, सुमन आङबोहाङ र सरोज खनाल रहेका छन् भने नगर महिला प्रहरीमा पूजा आचार्य र निता भण्डारी छन् । उनीहरुलाई नगर प्रमुख गोम्देनसहित उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख गोम्देनले नगर प्रहरीको नियुक्तिपछि नगरको सुशासन र पारदर्शीतामा टेला मिल्ने विश्वास व्यक्त गरे । नगरका जनप्रतिनिधि, कर्मचारीसँग नगरबासीको समन्वयमा नगर प्रहरीको प्रमुख भूमिका हुने पनि उनले सुनाए ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत रिमालले नगरको न्याय सम्पादनमा नगर प्रहरीले अब्बल भूमिका निर्वाह गर्नसक्ने बताउँदै नगरको नीति, नियममा रही अघि बढ्न निर्देशनसमेत दिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।