झापा । झापामा चोरी डकैती गरी फरार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुवै जना मेचीनगर नगरपालिकाका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मेचीनगर ११ घर भइ हाल वडा नं ७ करुणावस्ती बस्ने २४ वर्षीय भुन्टे भन्ने बुद्धबहादुर कार्की र सोही ठाउँका २९ वर्षीय शंकर राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमबार दुवै जनालाई पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको गत जेठ २१ गतेको फैसला अनुसार चोरी तथा डाकासम्बन्धी कसुर मुद्दामा उनीहरुलाई जनही ३८ दिन कैद, ८ हजार जरिवाना र ३२० रुपैयाँ प्रतिवादीले पीडित राहतकोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो ।
दुवै जनालाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।