झापा । डाक्टर निरज यादवको निधनप्रति कन्काई हस्पिटलले दुःख व्यक्त गरेको छ । आज बिहान मोरङको उर्लावारीमा मोटरसाइकल दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर यादवको मृत्यु भएको हो ।
आज बिहान ६ः१५ बजे उर्लाबारी ४ स्थित ऊँ सत्य साई पेट्रोल पम्पनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा यादवले चलाएको प्र १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनाका घाइते सप्तरी रुपनी ६ घर भएका २८ वर्षीय डा यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए ।
डा यादवको निधनले कन्काई हस्पिटललाई ठूलो क्षति पुगेको हस्पिटलका अध्यक्ष युवराज डाँगीले बताएका छन् । ‘एकजना मिलनसार, हँसिलो र दक्ष चिकित्सक हामीले गुमाउनु पर्यो,’ उनले भने । एमबीबीएस गरेका डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए ।
हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको बताइएको छ । चार दिनअघि उनी घर गएका थिए । उनी गत फागुन २७ गतेदेखि कन्काई हस्पिटलमा कार्यरत थिए । त्यसअघि उनी बीएण्डसी हस्पिटलमा काम गर्थे ।