झापा । झापाको बाह्रदशी गाउँपालिका ५ स्थित घोडामारा चोकनजिक बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी ३ घोडामाराका २२ वर्षीय सनम हेमरम रहेका छन् ।

 

सनमको क्यानडाको भिसा लागिसकेर पर्सीको फ्लाइट थियो । त्यसका लागि उनी भोलि काठमाडौ जान लागेका थिए । चारपाने-राजगढ भित्री सडकअन्तर्गत बिहान ११ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ८ प ३५६९ को मोटरसाइकलले बाटो काट्दै गरेकी पैदल यात्री स्थानीय ४५ वर्षीया मनि मर्डीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक हेमरमसहित तीन जना घाइते भएका थिए । उपचारका लागि बिर्ता सिटी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मोटरसाइकल चालक हेमरमलाई मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा पैदल यात्री मर्डी घाइते भएकी छन् । उनको छाती र दाहिने खुट्टामा चोट लागेको छ ।

 

त्यस्तै मोटरसाइकलको पछाडि सवार बिर्तामोड ३ बस्ने २३ वर्षीय समीर महमद पनि घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको थियो । पैदल यात्रीलाई बिर्ता सिटीमा बेड खाली नभएकोले बीएण्डसी हस्पिटल लगिएकोमा त्यहाँ बेड पनि खाली नभएपछि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

 

मोटरसाइकलको पछाडि सवार महमद उपचारपश्चात् डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी फुलबारीले नियन्त्रणमा लिएको छ ।