इलाम । इलामको माईजोगमाई गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ ।
पोखरेल आइतबार पालिकाको कार्यालयमा हाजिर हुन मन्त्रालयको पत्रसहित पुग्दा उहाँलाई हाजिर नगराई फर्काइएको छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको ठाडो आदेश भन्दै उनलाई हाजिर नगराइएको बताइएको छ ।
पालिकाका निमित्त कार्यालय प्रमुख प्रकाश चौधरीका अनुसार सरुवा भएर आएका पोख्रेलको रमनापत्र र सरुवापत्र पालिकामा दर्ता भएको भए पनि हाजिर भने नभएको जानकारी दिए । हाजिर नगराएपछि पोख्रेल इलाम फर्किएका छन् ।
उनले रमाना र सरुवापत्र दर्ता भएपछि हाजिर गराएसरह भए पनि हाजिरी लुकाइएको प्रतिक्रिया दिएका छन् । ताप्लेजुङबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलको आइतबार हाजिर हुने अन्तिम दिन थियो । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा रहँदा राम्रो काम गरेका पोख्रेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी माईजोगमाई पठाएको थियो ।
विवादै विवादमा रहेको माईजागमाईमा पोख्रेललाई समेत हाजिर नगराइएपछि कार्यालयको काम प्रभावित हुने भएको छ । तर, गाउँपालिका उपाध्यक्ष प्रविना राईले गाउँपालिका अध्यक्ष पालिका बाहिर रहेको र आफू भएकैबेला हाजिर गराउने भन्ने कुराले हाजिर हुन नसकेको बताइन् ।
केही दिनअघि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको सरुवा भएको थियो । उनको सरुवा भएलगत्तै गत १८ गते गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईसँग कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएको थियो । सो भिडियोका कारण चर्चामा रहेको गाउँपालिका थप विवादित बन्दै गएको छ ।