झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का अव्यवस्थित बसोबास तथा भूमिहीनहरूलाई सोमबार थप निस्सा वितरण गरिएको छ । पहिलाे चरणमा वडा नम्बर ५ का सबै भूमिहीनहरूले जग्गाकाे निस्सा प्राप्त गरेका छन् ।

 

यसअघि वडाका ४४ जना अव्यवस्थित बसोबास तथा भूमिहीनलाई जग्गाको निस्सा वितरण गरिएको थियो । सोमबार अर्जुनधारा ५ का वडाध्यक्ष गिताराज खड्काको अध्यक्षता तथा नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा थप ५२८ जना भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो ।

 

भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेले निस्साबारे जानकारीसहित औचित्य प्रकाश कार्यक्रममा उनीसहित नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष खड्कालगायतले भूमिहीनलाई जग्गाको निस्सा प्रदान गरेका थिए ।

 

५ नम्बर टोल विकास समितिका संयोजक देवराज बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य लक्ष्मीप्रसाद खनालले स्वागत गरेका थिए । यसअघि अर्जुनधारा वडा नम्बर १ र वडा नम्बर ११ का अव्यवस्थित बसोबास तथा भूमिहिन परिवारलाई निस्सा वितरण गरिएको नगर प्रमुखका सचिवालयले जनाएको छ ।