झापा । पछिल्ला समय झापामा मोटरसाइकल चोरी गर्नेको बिगबिगी बढेको छ । यसैक्रममा बिर्तामोडमा एकैदिन दुई वटा मोटरसाइकल चोरी हुँदा चोरिएको एउटा मोटरसाइकलसहित दुई जना भद्रपुरमा पक्राउ परेका छन् ।
बिर्तामोड ४ स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको कार्यालय अगाडिबाट हिजो बिहान १०ः३० बजे मोटरसाइकल चोरी भएको थियो । कार्यालय अगाडिको पार्किङस्थलबाट मे ०१-०१४ प ८५४८ नम्बरको मोटरसाइकल चोरी भएको हो । कालो भेस्ट र जिन्स पाइन्ट लगाएका युवकले कर्मचारी भानु आचार्यको मोटरसाइकल चोरी गरेको कार्यालयको सिसिटिभी फुटेजमा कैद भएको छ ।
यसैबीच, मोटरसाइकल चोरी गरी लैजादै गर्दा भद्रपुरमा दुई जना पक्राउ परेका छन् । आज बिहान ७ः३० बजेको समयमा भद्रपुर नगरपालिका ४ तारानगरमा प्रहरी चौकी महेशपुरको टोलीले मे ११ प ४३०७ नम्बरको एफजेड मोटरसाइकल डोर्याउँदै लैजाँदै गरेको अवस्थामा फेला पारी शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याइएको थियो ।
पक्राउ परेका साविक चकचकी ८, हाल बाह्रदशी गाउँपालिका २ का ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मोहम्मद जुबेरलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल बिर्तामोड ४ मेघाबारीबाट चोरी गरी लगेको खुलेको हो ।
ईलाम देउमाई नगरपालिका ३ बस्ने ताराकुमार राईका छोरा २० वर्षीय निश्चल राईको डेरा रहेको बिर्तामोड ४ मेघाबारीबाट उनीहरुले मोटरसाइकल चोरी गरी लगेको खुल्न आएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।