झापा । बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापा बाह्रदशी १ बस्ने कर्णबहादुर केरुंगाको मृत्यु भएको छ । अचानक रिंगटा लागेर उनी ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

 

काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि साथीहरू तथा कम्पनीका मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेका थिए । तर, उनको स्वास्थ्यमा सुधार आएन । उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा उनको मृत्यु भएको हो ।

 

उनी साउदी अरबको अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए । सहयोगीको पहलपछि उनको शवलाई मंगलबार नेपाल पठाइएको छ ।

 

नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका पूर्व उपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतनिक प्रतिनिधि भक्तवीर राईलगायतको प्रयासपछि शवलाई नेपाल पठाएको संघका क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए ।