झापा । मेचीनगर नगरपालिकाको मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । उनीहरुले साइकल र स्कुटीमा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

 

बुधबार दिउँसो २ः३० बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको साइकललाई चेकजाँच गर्दा साइकलको बायाँतर्फको हेण्डलको प्वालमा सेतो रंगको प्लाष्टिकमा पोका पारी लुकाईछिपाई ल्याउँदै गरेको १ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

साइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय अरुण दर्जी र सोही साइकलको पछाडि सवार वडा नम्बर १० बस्ने ४६ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरेको हो ।

 

त्यस्तै, बुधबार दिउँसो २ः४५ बजे प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र. १–०१–०१५ प ७३३४ नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्दा स्कुटी चालक मेचीनगर नगरपालिका ३ का २२ वर्षीय युवराज गिरी पक्राउ परे ।

 

उनको साथबाट ५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।